Sunday, June 3, 2012

पनौती जात्रा र किंवदन्ती

डा. सुमनराज ताम्राकार

जेष्ठ २१ [2069/2012] -
बर्सेनि मनाइने पनौती जात्रा जेठ २० गते सुरु भई शुक्लपूणिर्मा अर्थात् २२ गते इन्द्रेश्वर, उन्मत्त भैरव र भद्रकाली माईबीच तीनतीनपटक रथ जुधाई सम्पन्न हुन्छ । ऊ बेला जात्रा हेर्न आएका पाहुनाहरू नै जिल्लिने गरी मध्यराति सिध्याइने यो जात्रा आजकल मध्याह्नताका हुन्छ । यसै साँझ ब्रह्मायणी माईको पनि जात्रा गरिन्छ ।

पनौती जात्राको पहिलो दिन कुल्क्याको राति बाजागाजासहित ब्रह्मायणीको खट त्यसपछि भद्रकालीको रथलाई त्रिवेणीघाटमा लगिन्छ । त्यसपछि दुईंचा न्याय्केगु भनी कुल्क्याः को मुख्य कार्य सुरु हुन्छ । ब्रह्मायणी मन्दिरमा शिलावती यज्ञका लागि आवश्यक पूजा सामानहरू लिई पारि ब्रह्मायणी जाने पुण्यमातामाथिको झोलुंगे पुल पार गर्ने काम साह्रै ढिलो गरी पार गर्छ । करिब २५ मिटर लामो झोलंुगेपुल पार गर्न त्यस्तै परे करिब ४५ मिनेट समय लाग्छ । यसो गर्नाको किंवदन्ती यसप्रकार छ ।

परापूर्वकालमा पुण्यमाता खोलामा निकै ठूलो बाढी आएका कारण त्रिवेणीघाट पारि रहेको ब्रह्मायणीमा गई शिलावती यज्ञ गर्न व्यवधान पुगेका बेला पनौती जन्मस्थान भएको विश्वास गर्ने वासुकी नागले पुलको काम गरेका थिए रे । माछाजस्तै नागको जीउ पनि चिप्लो हुने र पुच्छरतिर सानो हुने कारण दुईंचा न्यायकेगुका दिन सांकेतिक रूपमा ढिलो हिँड्ने गरेको भनिन्छ । यो जात्रा सायद नेपालभरिमा यहाँ मात्र गरिन्छ । मध्याह्नतिर गरिने यो जात्राको सिलसिलामा सुरुमा ब्रह्मायणीलाई रथयात्रा गरी नगरपरिक्रमा गराई लाय्कु दरबारनेरको पुलिस पाटीमा पुर्‍याइन्छ । त्यसपछि महादेवको खट बोकेर भद्रकाली एवं उन्मत्त भैरवको रथ तानेर लाय्कु दरबारको प्रांगणमा पुर्‍याइन्छ । सुरुमा भैरव र भद्रकालीबीच र पछि महादेव र भद्रकालीबीच ३-३ पटक रथ जुधाइन्छ ।

विगतमा पनौती जात्रा आएको जनाउ दिनका लागि ज्ोठ शुक्ल दशमीदेखि आषाढ कृष्ण तृतीयासम्म कसाईहरूद्वारा आफ्नै विशेष बाजा बजाई नगर परिक्रमा गर्ने परम्परा थियो । यसै जात्राका लागि चाहिने कुस्ले बाजा, दुईंचाको व्यवस्था पनि जसोतसो चलाउनुपरेको छ । पूणिर्माको दिन रथ जुधाएको हेर्न वरिपरिका गाउँ र अन्यत्रका मानिसहरूको घुइँचो लाग्छ । पहिलेपहिले डाँडापारिबाट तामाङ जातिका थुप्रै दिदीबहिनी पूणिर्माको अघिल्लो दिन आई रातभरि तामाङ दोहोरी गाई बस्ने चलन थियो । विगतमा पनौती जात्राताका चिउरी, केरा र घुमको निकै बेचबिखन हुन्थ्यो । समय क्रमसँगै यी पक्षहरू नासिने अवस्था छ, यसलाई बेलैमा संरक्षण संवर्द्धन गर्न आवश्यक छ ।

जात्रासम्बन्धी केही किंवदन्ती

एकपटक भद्रकाली एकदमै कामातुर भई महादेवलाई लखेट्न थालिछन् । पनौतीको लाय्कु दरबार नजिक पुग्दा भद्रकाली घोप्टो परी लड्न पुगिन् । यही बेला भद्रकालीले पछाडि हेर्दा उन्मत्त भैरव देखिन् र भैरवले पछाडिबाट तीनपटक शारीरिक सम्पर्क राखे । पछि महादेवले पनि भद्रकालीसँग तीनपटक शारीरिक सम्पर्क राखेको कुरालाई नै प्रतिबिम्बित गर्दै पनौतीमा बर्सेनि रथ जुधाउने परम्परा प्रचलनमा छ ।

त्यसो त पनौती जात्राबारे कुनै लिखत, ग्रन्थ पनि केही छैन । सायद पनौतीका धेरैजसो बासिन्दा कृषक छन् अर्थात् कृषिमा आधारित छ । पनौतीको जात्राताका मनसुन सुरु भई पानी पर्ने मौसम भएकाले यो जात्रा आसपास जस्तोसुकै खडेरीमा पनि पानी पर्छ भन्ने विश्वास भएकाले त्यस्तै परे पनौतीवासीले जात्राकै दिन पनि पाहुनालाई घरमै छाडी रोपाइँमा जान बेर लाग्दैन रे । त्यसैले ज्यापुन्ही अर्थात् काम गर्ने पूणिर्मा भनिएको रे ।

जेठ शुक्लपूणिर्माको दिन सबेरै पनौतीमा पुण्यमाता र रोसीको संगममा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ । गौतम ऋषिकी पत्नी अहल्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको श्रापमोचन पुण्यमाता र रोसीको संगममा पूणिर्माको दिन बिहानै नुहाउनाले भनी स्कन्दपुराणअन्तर्गत हिमवत् खण्डमा उल्लेख गरिएको छ । यस्तै धार्मिक महत्त्व बाह्र वर्षै मकरमेला तथा बर्सेनि माघेसंक्रान्तिको दिन त्रिवेणीघाटमा नुहाउनाले पनि पुण्य मिल्छ भन्ने जनविश्वास छ ।

No comments: