Thursday, June 14, 2012

भाषिक समानतामा रूपान्तरण आवश्यक


धीरेन्द्र प्रसाद साह



राजविराज, चैत्र १८ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेठ १४ अघि नै संविधानलाई मूर्त रूप दिने बताउनु भएको छ।
राष्ट्रिय मैथिली सम्मेलन २०६८ को शनिबार राजविराजमा उद्घाटन गर्दै उहाँले शान्तिप्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले कुनै पनि हालतमा जेठ १४ अघि नै लोकतान्त्रिक संविधानलाई मूर्त रूप दिने ठोकुवा गर्नुभयो। सङ्घीयताबिनाको संविधान परिकल्पना गर्न नसक्ने बताउँदै उहाँले सङ्घीय शासन प्रणालीका बारेमा राजनीतिक दलहरूसँग व्यापक छलफल भइरहेको जानकारी दिनुभयो। वर्तमान सरकार स्वशासन, आत्मनिर्णयको अधिकारप्रति संवेदनशील रहेकाले उक्त विषयहरूमा चाँडै नै टुङ्गो लगाई शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याई संविधान बनाएर आर्थिक समृद्धितर्फ अघि बढ्ने उहाँले बताउनुभयो। वर्तमान सरकारको मुख्य लक्ष्य शान्ति र संविधान रहेको भन्नुहुँदै प्रधानमन्त्री भट्टराईले सेना समायोजन विशेष समितिको चैत ३० गतेभित्र सेना समायोजनको काम पूरा गर्ने निर्णय ऐतिहासिक रहेको बताउनुभयो।
सम्मेलनका मूल आयोजक समारोहका संयोजक विष्णुकुमार मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री भट्टराईले लोकतान्त्रिक संविधानमा मैथिलीसहित तमाम मातृभाषालाई नेपाली भाषासरह राष्ट्र भाषाको दर्जा दिने बताउनुभयो।
महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस विद्रोहको समेत त्यही मूलमन्त्र रहेको स्मरण गराउँदै उहाँले एक भाषा एक भेषको सट्टा भाषिक समानतामा रूपान्तर गर्न आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री भट्टराईले दक्षिण अफि्रकामा सङ्कटकालका वेला चार हजार मानिस मारिएको चर्चा गर्दै कुनै पनि देशका लागि सङ्क्रमणकालीन अवस्था सङ्कटपूर्ण रहेको भए पनि नेपालको सङ्क्रमणकालीन अवस्था शान्त र सुव्यवस्थित रहेको बताउनुभयो।
प्राचीनकालमा मिथिला गौतमबुद्ध, अष्टावक्र, जानकीजस्ता विद्वानहरूको गढ रहेको उल्लेख गर्दै उहाँले मैथिली जस्तो सहज भाषा, सरल व्याकरण, सुन्दर लिपि, बृहत् शब्दकोष रहे पनि मैथिली भाषा, संस्कृति, रीतिरिवाजका बारेमा पठनपाठन नहुनु विभेदपूर्ण रहेको बताउनुभयो।
 

खोई तिनको देश?

अभय श्रेष्ठ- यो जितः न जिगुः देश यो

तर, जि मखं जिगु देश ग्वः?
(मन पर्छ मलाई पनि मेरो देश
तर, मैले देखिनँ, खोई मेरो देश?)
-दुर्गालाल श्रेष्ठ

भाषिक, सांस्कृतिक अधिकारयुक्त राज्य बन्ने सपनाको जगमात्र के हालिएथ्यो, जातीय सद्भाव खलबलिने भनेर बबन्डर मच्चाइयो। परिणाम हाजिर छ, विविध जातजाति र भाषाभाषीका फूलहरू एउटै बगैँचामा फुल्ने संघीयताको सपनामात्र भत्केन, जनादेश पूरा नगरी संविधानसभाकै हत्या गरियो। फेरि पनि अल्पमत, उत्पीडत जाति, थिचिएका भाषाभाषीले कवि दुर्गालाल श्रेष्ठले जस्तै भन्नुपर्ने दिन आयो, खोई मेरो देश?

जातीय राज्य, जातिवादी राज्य र पहिचानयुक्त राज्य एकै कुरा हुन् त? 'होइनन्', नेपालभाषाको दैनिक सन्ध्या टाइम्सका सम्पादक तथा युवाकवि सुरेश किरणले बारम्बार लेख लेखेर स्पष्ट पारेका छन्, 'पहिचानयुक्त राज्य एकजातीय राज्य अन्त्य गरी बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक राज्य बनाउने अभ्यास हो।'
जनजातिले त इतिहासदेखि आफ्नो भाषा, संस्कृति थिचिएको क्षतिपूर्तिस्वरूप आफ्नो बाहुल्य भएको क्षेत्रमा आफ्नै पहिचान झल्काउने नाम दिएर आत्मसम्मानको पुनर्बहालीमात्र खोजेका थिए। हो, विघटित संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समितिको प्रतिवेदनमा अग्राधिकारको व्यवस्था थियो। त्यसलाई दलित र अत्यन्त पिछडिएका जनजातिका हकमा मात्र सीमित गरेर पहिचानयुक्त राज्य बनाउन सकिन्थ्यो। जनजातिहरू संविधान जारी हुनुपर्ने घडीमा त्यसका लागि तयार पनि भइसकेका थिए।
एकभाषिक देश
नेपालका सरकारी अड्डा, अदालत र शिक्षालयमा चल्ने भाषा नेपाली हो। सबै नेपालीको भाषा भने पनि मूलतः यो खस जातिको भाषा हो। राज्यबाट प्रश्रय नपाएपछि अरु जातिका भाषा विकसित हुन पाएनन् र माध्यम भाषा हुँदै खस भाषा जबर्जस्ती सबै नेपालीको भाषा हुन पुग्यो। गणतन्त्रमा सरकारी अड्डा, अदालत र शिक्षालयमा नेपाली भाषासँगै अरु जातजातिका भाषालाई पनि मान्यता देऊ, जान्नेले त्यही भाषामा, नजान्नेले नेपालीमै काम गरून् भन्ने माग कुन दृष्टिले नाजायज थियो र?
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि पूरै नेपाली समाजको हिन्दूकरण र खसकरण गरियो। अप्रिल विद्रोहको सफलतापछि नेपाल धर्म निरपेक्ष राष्ट्र घोषित भयो। तैपनि, हिन्दू धर्म र खस भाषाले विशेष अधिकार र मान्यता पाइरहे। यसको सबैभन्दा बढी सजाय जनजातिका भाषाभाषी र साहित्यले भोग्नुपरेको छ। खस भाषालाई 'नेपाली' भनिएको छ। त्यसो भए अन्य भाषाभाषी अनेपाली त? भन्न त भनिन्छ, 'होइन, सबै भाषाभाषी नेपाली', व्यवहारचाहिँ तिनीहरूमाथि 'अनेपाली' लाई जतिकै गरिन्छ। नत्र नेपाली भाषा, साहित्यको कुरा गर्दा नेपालभाषा, मैथिली, अवध, भोजपुरी, थारु आदि भाषा, साहित्यको उल्लेख किन गरिँदैन?
साहित्यमा नेपालभाषा
यस मानसिकताको सजाय सबैभन्दा बढी भोग्नुपरेको भाषामध्ये एक हो, नेपालभाषा। (मैथिली, भोजपुरी, तामाङ, थारु, अवध, राई, मगर, गुरुङलगायत अन्य भाषाको नियति पनि यही छ।) नेपालभाषामा उत्कृष्ट साहित्य लेखिएका छन्। परन्तु, त्यसलाई मूलधारको साहित्यका रूपमा कहिल्यै उल्लेख गरिएन।
पूर्ण वैद्य नेपालभाषाका मानक कवि हुन्। सरासु (झिनो स्वर), लः ल ख (पानी पानी हो) जस्ता प्रसिद्ध कविता किताबका स्रष्टा वैद्य नेपालभाषामा आधुनिक कविताका 'ठूल्दाइ' का रूपमा चिनिन्छन्। नेपालीमात्र नभई अन्तर्राष्ट्रिय जगत् नै उनका कवितासँग परिचित छ। अमेरिकी एक समीक्षकलाई उद्धृत गर्दै कवि मञ्जुलले कुनै दिन मलाई भनेका थिए, 'वैद्य एसियाली कविताकै उत्कृष्ट मानशिल्पी हुन्।' 'खुट्टा देख्नेबित्तिकै' शीर्षक एक कवितामा वैद्य लेख्छन्-
खुट्टा देख्नेबित्तिकै गुन्न थाल्छु
मेरो गन्तव्य बाँकी छ
मलाई पुग्नुपर्ने ठाउँ प्रशस्त छ
झ्यालढोका देख्नेबित्तिकै
झल्याँस्स हुन्छु,
मलाई व्यक्तिनु छ
आफैँबाट बाहिर निस्कनु छ
विद्रोही र रुमानी भावका कवितामा स्व. सुन्दर मधिकर्मी पनि उत्तिकै जमेका छन्। नेपाली भाषामा अनुदित उनका कविताहरूको सँगालो 'सुन्दर मधिकर्मीका कविता' इन्द्र मालीको सम्पादनमा छापिएपछि थुप्रै नेपाली साहित्यप्रेमीले उनको अनुपम काव्यकलाबारे जानकारी पाए। सोही किताबमा आयामेली कवि ईश्वरवल्लभले लेखेका छन्, 'सुन्दर मधिकर्मीलाई पन्छाएर आधुनिक नेपाली कविताको अध्याय पूरा हुनै सक्दैन।'
शब्दको आगो बाल्ने शक्तिशाली कवि हुन् बुद्ध सायमी। आन्दोलनका नारा बन्न सक्छन् उनका कविता। श्रीखण्डझैँ पवित्र पाखण्डलाई थाङ्नाजस्तै च्यात्न चाहन्छन् उनी। आफ्नो एक कवितामा उनी लेख्छन्, 'तिम्रो संस्कार र मनोवृत्तिका लालमोहर च्यात्न देऊ मलाई/ म त त्यहीँ नै कैद छु।' कवितामा नारी विद्रोह उराल्न पोख्त छिन् प्रतिसरा सायमी। पितृसत्तात्मक समाज व्यवस्थाविरुद्ध उनले आफूलाई नालिसपत्र बनाएकी छन्।
धुस्वाँ सायमीको उपन्यास 'गंकी' सम्भवतः सबैभन्दा बढी अन्तर्राष्ट्रिय भाषामा अनुदित नेपाली कृति हो। तारानाथ शर्माले यसलाई भ्लादिमिर नोबाकोभको उपन्यास 'लोलिता' सँग दाँजेका छन्।
युवाकवि सुरेश किरणका कविताले थुप्रै नेपाली साहित्यप्रेमीलाई पनि आकर्षित गरेको छ। आन्दोलनलाई नै आन्दोलित पार्ने शक्ति छ उनका कवितामा। 'रोल्पा' एक उदाहरण हो जसमा भूगोल नजान्ने शासकमाथि उनले प्रहार गरेका छन्। नेपाली कविता डट कम र अमरकान्ति स्कूलद्वारा हालै लेलेमा आयोजित 'समसामयिकताका सन्दर्भमा आजका कविता' कार्यक्रममा नेपालभाषी कवि नर्मदेश्वर प्रधानका कविता सुन्दा नेपाली भाषाका थुप्रै साहित्यकारले ओठ टोकेका थिए। प्रधानले सुनाएको कवितामा अन्धो सत्ता नांगो मानिसलाई भन्छ, 'शान्ति थाप'। नांगो मानिसले केमा थापोस् शान्ति! साहित्यकार नारायण ढकालले त मुखै फोरे, 'विवेकहीन सत्ताका लागि यो कविता ठूलो चुनौती हो।'
यी प्रसंग केही उदाहरण हुन् जसले नेपालभाषामा पनि निकै उत्कृष्ट साहित्य लेखिएका छन् भन्ने प्रमाण दिन्छन्। परन्तु, नेपालभाषाका उत्कृष्ट साहित्यसँग आमपाठक परिचित छैनन्।
आधुनिक कवितामा कति अर्थमा यसले नेपाली भाषाका कवितालाई नै पछाडि पारेको दाबी गरिन्छ। तुलनात्मकरूपमा नेपालभाषामा लेख्नेहरू कम छन्। त्यसलाई गुणस्तरीय लेखनले क्षतिपूर्ति गरेको छ।
ओझेल परेको माटो
रण मल्लबाट थालिएको नेपालभाषी कविताले महेन्द्र मल्लसम्म आइपुग्दा कवितात्मक स्वरूप ग्रहण गर्‍यो। चित्तधर हृदय, फत्तेबहादुर सिंह, सिद्धिदास, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, पे्रमबहादुर कसाः, माधवलाल कर्माचार्य, तीर्थराज तुलाधर, ईश्वरानन्द श्रेष्ठाचार्य, नारायणदेवी श्रेष्ठ, चित्तरञ्जन नेपाली, फणिन्द्ररत्न बज्राचार्य, दुर्गालाल श्रेष्ठसम्म आइपुग्दा यो निकै उन्नत रूपमा देखापर्‍यो। २०१७ सालपछि उदाएका केही कविले नेपालभाषाका कवितालाई कायाकल्पै गरिदिए। त्यसलाई नयाँ कविता नाम दिइयो। इन्द्र मालीको सम्पादनमा २०४९ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित 'नेवारी भाषाका आधुनिक केही कविता' मा नयाँ कविताको सांगोपांगो रूप देख्न सकिन्छ। नेपाली अनुवादमा कवितात्मक भाषा खड्कन्छ तैपनि कवितात्मक गहिराइ सजिलै नाप्न सकिन्छ। किताबमा श्यामसुन्दर सय्जु, पूर्ण वैद्य, योगेन्द्र प्रधान, सुन्दर मधिकर्मी, बुद्ध सायमी, आनन्द जोशी, केशवमान शाक्य, प्रतिसरा सायमी, सुदन खुसः र सुरेश किरणका प्रतिनिधि केही कविता छन्।
सुन्दर मधिकर्मीद्वारा सम्पादित गाजलं दागु चा (ओझेल परेको माटो) मा पनि नेपालभाषी आधुनिक कविताको प्रतिनिधि रूप देख्न सकिन्छ। मालीको सम्पादनमा निस्केको पुस्तक प्रकाशनको २० वर्षबीच नेपालभाषाको नयाँ कविताको रूप फेरिएको छैन। भनिन्छ, सुरेश किरणपछि नयाँ पुस्ता र प्रतिसरा सायमीपछि नारी हस्ताक्षरको खासै दरिलो उपस्थिति छैन।
मालीको किताबमा नसमेटिएका अरू थुप्रै कवि छन्। तिनको योगदान पनि महत्वपूर्ण मानिन्छ। नवीन चित्रकार, श्रीराम श्रेष्ठ, माधव मूल दार्शनिक धारका गम्भीर कविता लेखिरहेका छन्। नर्मदेश्वर प्रधान, पुष्पराज कर्णिकार, योगेशराज मिश्र, राजभाइ जःकमी, रजनी मिला, सुधीर खोबी, त्रिरत्न शाक्य, शाक्य सुरेन, रासा, पुष्प मुनंकर्मी समसामयिक राजनीति र जीवनका विविध आयाममाथि राम्रा कविता लेखिरहेका छन्। यही धारा पछ्याइरहेका छन् रोशनकुमार राजभण्डारी, ईश्वरीमैया श्रेष्ठ, तब मरु, कृष्णभक्त बोडे, रामगोपाल आशुतोष, गणेशराम लाछी, अगिब बनेपाली, नरेन्द्रप्रसाद जोशी, दया खड्गी वेचैन आदि।
आधुनिक कविता किताबमा पूर्ण वैद्यको सरासु, लः ल ख, आनन्द जोशीको विस्थापित जि जि मखु, योगेन्द्र प्रधानको हावलासा, बुद्ध सायमीको जि जिगु वर्तमान (म मेरो वर्तमान), केशवमान शाक्यको बिनाच्वंगु पहर, प्रतिसरा सायमीको जि छकू नालिस भो (म एउटा नालिसपत्र), सुन्दर मधिकर्मीको फसय थ्वइच्वंगू म्हे ( हावामा गुञ्जिरहेको गीत), जिगु म्हंगसया जाँ (मेरो सपनाको उचाइ), सुदन खुसको 'तनावनाच्वंगु', सुरेश किरणको 'थौँ घण्टाघरं जिकेः ईः न्याना च्वन' (घण्टाघरले आज मलाई समय सोधिरह्यो) लोकप्रिय छन्। शास्त्रीय साहित्यमा गिरिजाप्रसाद जोशीका कविता र चित्तधर हृदयको महाकाव्य 'सुगत सौरभ' स्मरणीय छन्। 'सुगत सौरभ' विभिन्न अन्तराष्ट्रिय भाषामा अनुदित छ।
स्व. धुस्वाँ सायमी नेपालभाषाका प्रथम उपन्यासकार हुन्। गंकी (ग्रहण), मिसा (युवती) मतिना (प्रेम), निभा (घाम), मयजु (आइमाई), पल्पसा (बिजुली चम्काइ) लगायत झन्डै दुई दर्जन उपन्यासका स्रष्टा सायमीलाई नेपालभाषा उपन्यास सम्राट् उपाधि दिइएको छ। २०१५ सालमा प्रकाशित गंकीलाई सायमीको पर्याय नै मानिन्छ। यसलाई भ्लादिमिर नोबाकोभ र अल्बर्टो मोरावियाका उपन्याससँग दाँजिएको छ। तारानाथ शर्माका अनुसार यो नेपालकै पहिलो मनोविश्लेषणात्मक उपन्यास हो। उपन्यासमा भ्रष्ट यौन सम्बन्धको दुर्नियतिको दायित्व आइमाईले मात्र बोक्नुपरेको कथा छ। ईश्वरानन्द श्रेष्ठाचार्यको न्हाय्कं (ऐना) लाई यौनविश्लेषणात्मक उपन्यास मानिन्छ। मथुरा सायमीको कटामरी (खेलौना), गिरिजाप्रसाद जोशीको सिलुस्वाँ, विपात्र, रामशेखर नकर्मीको नसँ फाःगुचा (रात चिर्ने बिहान), केदार सितुको स्वम्हम्ह मनु (तेस्रो मान्छे), शशीकला मानन्धरको जल्ल थिंगु लँपु (उज्यालो बाटो) चर्चित छन्।
भरत साःमी, लक्ष्मण राजवंशी, भूषणप्रसाद श्रेष्ठ कथामा नेवारी संस्कृति र सामाजिकता चित्रण गर्न पोख्त मानिन्छन्। अमृतरत्न तुलाधर, केदार सितु, धु्रव मधिकर्मी आधुनिक बिछट्ट शैली र विषयवस्तुमा नयाँपनका लागि चिनिन्छन्। पूर्ण वैद्य, पद्मरत्न तुलाधर, पूर्णकाजी ताम्राकार, रमेशकाजी स्थापित, विष्णु अल्पज्ञ, मंगलप्रसाद स्यःस्य, नर्मदेश्वर प्रधान, इन्द्र माली निबन्ध तथा समालोचनामा जमेका छन्।
एकभाषिक राज्यमा देशको कुल जनसंख्याको थोरै प्रतिशत जनताले बोल्ने भाषाको साहित्य ओझेल पर्नु अस्वाभाविक होइन। यसको अर्थ अल्पमत भाषाहरूमा स्तरीय साहित्य लेखिएकै छैनन् भन्ने हुनै सक्दैन। नेपालभाषा साहित्य स्वयं एक चुनौती हो। मैथिली, भोजपुरी अन्य चुनौती हुन सक्छन्। विश्वसाहित्य वा कलाको वास्तविक रूप हेर्ने हो भने अंग्रेजी भाषाबाहिर पनि पुग्नु जरुरी छ। त्यसैगरी नेपाली साहित्यको वास्तविक रूप हेर्ने हो भने नेपालभाषा, मैथिली, भोजपुरीलगायत भाषामा पनि छिर्नु जरुरी छ। अर्कातिर नेपाली साहित्य भन्नाले नेपाली भाषाको साहित्यमात्र भन्ने अनुदार घेरा नाघ्नु जरुरी छ। माध्यम भाषाका रूपमा नेपाली भाषाका सञ्चारमाध्यमसँग त्यो नैतिक इमानदारी माग गर्नु जरुरी छ जसमा विनापूर्वाग्रह विभिन्न भाषाभाषीका सूचना पनि न्यायपूर्ण तरिकाले प्रवाह गरियोस्।
सुभायः च्वःमि!
भाषा आन्दोलनको असली वाहक लेखकहरू नै हुन्। तिनकै कारण लोपोन्मुख भाषाको बीउ जोगिएर फैलिन्छ। अंग्रेजी भाषाको दबाब रहेको भूमण्डलीकरणको युगमा नत्र अल्पमत भाषाको के हालत हुन्थ्यो होला! त्यसैले हामी सबैले भन्नुपर्छ, सुभायः च्वःमि (धन्यवाद लेखक महोदय)! तिनकै आन्दोलनले एक दिन नेपाल नामको बगैँचामा फुल्नेछन् सबै भाषाभाषीका सयौँ फूलहरू।
http://nagariknews.com/saturday/41956-2012-06-10-13-43-24.html

Sunday, June 3, 2012

पनौती जात्रा र किंवदन्ती

डा. सुमनराज ताम्राकार

जेष्ठ २१ [2069/2012] -
बर्सेनि मनाइने पनौती जात्रा जेठ २० गते सुरु भई शुक्लपूणिर्मा अर्थात् २२ गते इन्द्रेश्वर, उन्मत्त भैरव र भद्रकाली माईबीच तीनतीनपटक रथ जुधाई सम्पन्न हुन्छ । ऊ बेला जात्रा हेर्न आएका पाहुनाहरू नै जिल्लिने गरी मध्यराति सिध्याइने यो जात्रा आजकल मध्याह्नताका हुन्छ । यसै साँझ ब्रह्मायणी माईको पनि जात्रा गरिन्छ ।

पनौती जात्राको पहिलो दिन कुल्क्याको राति बाजागाजासहित ब्रह्मायणीको खट त्यसपछि भद्रकालीको रथलाई त्रिवेणीघाटमा लगिन्छ । त्यसपछि दुईंचा न्याय्केगु भनी कुल्क्याः को मुख्य कार्य सुरु हुन्छ । ब्रह्मायणी मन्दिरमा शिलावती यज्ञका लागि आवश्यक पूजा सामानहरू लिई पारि ब्रह्मायणी जाने पुण्यमातामाथिको झोलुंगे पुल पार गर्ने काम साह्रै ढिलो गरी पार गर्छ । करिब २५ मिटर लामो झोलंुगेपुल पार गर्न त्यस्तै परे करिब ४५ मिनेट समय लाग्छ । यसो गर्नाको किंवदन्ती यसप्रकार छ ।

परापूर्वकालमा पुण्यमाता खोलामा निकै ठूलो बाढी आएका कारण त्रिवेणीघाट पारि रहेको ब्रह्मायणीमा गई शिलावती यज्ञ गर्न व्यवधान पुगेका बेला पनौती जन्मस्थान भएको विश्वास गर्ने वासुकी नागले पुलको काम गरेका थिए रे । माछाजस्तै नागको जीउ पनि चिप्लो हुने र पुच्छरतिर सानो हुने कारण दुईंचा न्यायकेगुका दिन सांकेतिक रूपमा ढिलो हिँड्ने गरेको भनिन्छ । यो जात्रा सायद नेपालभरिमा यहाँ मात्र गरिन्छ । मध्याह्नतिर गरिने यो जात्राको सिलसिलामा सुरुमा ब्रह्मायणीलाई रथयात्रा गरी नगरपरिक्रमा गराई लाय्कु दरबारनेरको पुलिस पाटीमा पुर्‍याइन्छ । त्यसपछि महादेवको खट बोकेर भद्रकाली एवं उन्मत्त भैरवको रथ तानेर लाय्कु दरबारको प्रांगणमा पुर्‍याइन्छ । सुरुमा भैरव र भद्रकालीबीच र पछि महादेव र भद्रकालीबीच ३-३ पटक रथ जुधाइन्छ ।

विगतमा पनौती जात्रा आएको जनाउ दिनका लागि ज्ोठ शुक्ल दशमीदेखि आषाढ कृष्ण तृतीयासम्म कसाईहरूद्वारा आफ्नै विशेष बाजा बजाई नगर परिक्रमा गर्ने परम्परा थियो । यसै जात्राका लागि चाहिने कुस्ले बाजा, दुईंचाको व्यवस्था पनि जसोतसो चलाउनुपरेको छ । पूणिर्माको दिन रथ जुधाएको हेर्न वरिपरिका गाउँ र अन्यत्रका मानिसहरूको घुइँचो लाग्छ । पहिलेपहिले डाँडापारिबाट तामाङ जातिका थुप्रै दिदीबहिनी पूणिर्माको अघिल्लो दिन आई रातभरि तामाङ दोहोरी गाई बस्ने चलन थियो । विगतमा पनौती जात्राताका चिउरी, केरा र घुमको निकै बेचबिखन हुन्थ्यो । समय क्रमसँगै यी पक्षहरू नासिने अवस्था छ, यसलाई बेलैमा संरक्षण संवर्द्धन गर्न आवश्यक छ ।

जात्रासम्बन्धी केही किंवदन्ती

एकपटक भद्रकाली एकदमै कामातुर भई महादेवलाई लखेट्न थालिछन् । पनौतीको लाय्कु दरबार नजिक पुग्दा भद्रकाली घोप्टो परी लड्न पुगिन् । यही बेला भद्रकालीले पछाडि हेर्दा उन्मत्त भैरव देखिन् र भैरवले पछाडिबाट तीनपटक शारीरिक सम्पर्क राखे । पछि महादेवले पनि भद्रकालीसँग तीनपटक शारीरिक सम्पर्क राखेको कुरालाई नै प्रतिबिम्बित गर्दै पनौतीमा बर्सेनि रथ जुधाउने परम्परा प्रचलनमा छ ।

त्यसो त पनौती जात्राबारे कुनै लिखत, ग्रन्थ पनि केही छैन । सायद पनौतीका धेरैजसो बासिन्दा कृषक छन् अर्थात् कृषिमा आधारित छ । पनौतीको जात्राताका मनसुन सुरु भई पानी पर्ने मौसम भएकाले यो जात्रा आसपास जस्तोसुकै खडेरीमा पनि पानी पर्छ भन्ने विश्वास भएकाले त्यस्तै परे पनौतीवासीले जात्राकै दिन पनि पाहुनालाई घरमै छाडी रोपाइँमा जान बेर लाग्दैन रे । त्यसैले ज्यापुन्ही अर्थात् काम गर्ने पूणिर्मा भनिएको रे ।

जेठ शुक्लपूणिर्माको दिन सबेरै पनौतीमा पुण्यमाता र रोसीको संगममा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ । गौतम ऋषिकी पत्नी अहल्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको श्रापमोचन पुण्यमाता र रोसीको संगममा पूणिर्माको दिन बिहानै नुहाउनाले भनी स्कन्दपुराणअन्तर्गत हिमवत् खण्डमा उल्लेख गरिएको छ । यस्तै धार्मिक महत्त्व बाह्र वर्षै मकरमेला तथा बर्सेनि माघेसंक्रान्तिको दिन त्रिवेणीघाटमा नुहाउनाले पनि पुण्य मिल्छ भन्ने जनविश्वास छ ।

Sunday, December 30, 2007

Tuesday, October 2, 2007

Jwajalapa !

Welcome to this Nepalbhasha blog.

It's my small effort to collect ideas, informations and opinions on Nepalbhsha movement. By naming it, I do not mean only the sahityik movement alone but all the ethnic, religious, cultural as well as political movement of the Newars. Let's make it a supprting factor to indigenous moement of the Newar, who have served this Kathmandu Valley for thousands of years but are always denied to their rights.

I believe that only strong, open and candid discussion on the on going activities will bring a right, long-lasting and real solution to problems of this movement. Don't behave like an ostrich, which hides its head into the bush, to say that there is no problem. There is problem and there is solution too.

Please bear with me and don't forget to send your fair comments and respect democratic rights of others to carry different opinion. All the best.

Subhay
Nepal Bhasha